नेपालबाट बाहिरिन थाल्यो मनसुन
यस वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको पश्चिमी भूभागबाट मनसुन बाहिरिन सुरु भएको हो।
विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आजदेखि नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन थालेको हो। उनका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण भूभागबाट मनसुन पूर्ण रूपमा बाहिरिएको छ।
यस्तै, लुम्बिनी प्रदेशका पश्चिमी अधिकांश भूभाग र गण्डकी प्रदेशको पश्चिमतर्फका केही भूभागबाट पनि मनसुन बाहिरिएको विभागले जनाएको छ।देशका अन्य भूभागमा पनि मनसुन कमजोर हुँदै गएको मौसमविद् अधिकारीले बताए। मनसुन बाहिरिँदैमा वर्षा पूर्ण रूपमा रोकिने भने नभएको उनको भनाइ छ।
‘मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भूभागमा वर्षाका गतिविधि हुन सक्छन्,’ अधिकारीले भने।विभागका अनुसार आगामी २४ घण्टामा देशका कुनै पनि भूभागमा भारी वर्षाको सम्भावना छैन। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
त्यस्तै, कोशी र मधेश प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ। यतिबेला धान भित्र्याउने समय भएकाले हल्का वर्षाले पनि कृषि क्षेत्रमा प्रभाव पार्न सक्ने मौसमविद् अधिकारीले बताए। त्यसैले किसानले मौसमको अद्यावधिक जानकारी लिएर मात्रै धान भित्र्याउनेलगायतका कृषि कार्य गर्न उनले सुझाव दिएका छन्।