एसियन हाइवेको निर्माण कार्य धमाधम, २३ किलोमिटर सडक कालोपत्रे
बिर्तामोड । नेपालसहित एसियाली राष्ट्रहरूलाई जोड्ने महत्वाकांक्षी आयोजना ‘एसियन हाइवे’ निर्माणको काम धमाधम भई रहेको छ । हालसम्म २३.२५ किलोमिटर कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको बताइएको छ । पूर्वी र पश्चिम गरी दुई खण्डमा विभाजन गरिएका सडक परियोजनाको एक भाग दमकस्थित कार्यालयले तथा अर्को भाग इटहरीस्थित कार्यालयले संयोजन गरिरहेको छ । पूर्वी खण्डका प्रमुख सुनिलबाबु पन्तका अनुसार दमक कार्यालयले निर्धारित लक्ष्य पूरा गर्न सक्रियताका साथ काम भइरहेको छ ।
आयोजना प्रमुख पन्तले भने–पूर्वी खण्ड अन्तरगत ४४.३ किलोमिटर सडक कालोपत्रे गर्नु पर्ने हुन्छ । हालसम्म २३.२५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । २०८३ माघ १९ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि उक्त अवधि भित्रमा करिब ९० प्रतिशत मात्र काम सम्पन्न हुने बताइएको छ । हाल दैनिक रुपमा ७–८ सय मिटर क्षेत्रमा कालोपत्रे गर्ने काम भइरहेको आयोजना प्रमुख पन्तको भनाई छ ।
झापाको मेची नगरपालिका, शिवसताक्षी, कनकाई, बिर्तामोड र दमक नगरपालिका तथा कमल गाउँपालिकाका केही भागमा कालोपत्रेको काम सकिएको छ भने सडक स्तरोन्तीका काम तथा पुल र कल्भर्ट निर्माणको काम समेत धमाधम भइरहेको छ । पूर्वी नेपालको सीमावर्ती जिल्ला झापा यतिबेला एउटा ठूलो पूर्वाधार परिवर्तनको चरणमा छ । सडक विस्तारसँगै कांकरभिट्टाबाट पूर्व–पश्चिमतर्फ दौडिने सडक अब केवल यातायातको साधन मात्र रहने छैन, दक्षिण एसियाली क्षेत्रलाई जोड्ने अन्तर्राष्ट्रिय व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्यसहित एसियन हाइवे निर्माण भइरहेको छ ।
हालसम्म १८.१५ किलोमिटर सडकको दुवै तर्फ कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ । उनले बाँकी भागको एकतर्फी क्षेत्रमा सडक कालोपत्रे भएको बताए । पुल,ओभर पास र बक्स कल्भर्टको निर्माण धमाधम भइरहेको र अधिकांश कल्भर्ट निर्माणको काम सम्पन्न भइसकेको आयोजना प्रमुख पन्तको भनाई छ । पूर्वी खण्डमा २१ वटा पुल बनिरहेका छन् भने पश्चिम खण्डमा पर्ने तीन ठूला पुल—रतुवा, बक्राहा र लोहन्द्राको निर्माण कार्य धमाधम अघि बढी रहेको छ । पूर्वी खण्डअन्तर्गत चारआली चोक, बिर्तामोड र चारपाने चोकमा मोटरेबल ओभरपास निर्माण हुने बताइएको छ ।
चारअली जङ्गलमा हात्तीका लागि अण्डरपास र छ वटा पैदलयात्री क्रसिङ बन्नेछन् । तीन सय मिटरभन्दा साना १८ वटा पुल यसै ठेक्काअन्तर्गत निर्माण सम्पन्न हुने आयोजना प्रमुख पन्तले जानकारी दिए । तीन सय मिटरभन्दा लामा निन्दा, बिरिङ र कनकाई पुल निर्माणको काम धमाधम भइरहेको छ । पुलको प्रगतिदर केही कम भएपनि धाधम काम भएकाले छिट्टै प्रगतिको दर बढ्ने उनको भनाई छ । उनका अनुसार ३१ प्रतिशत मात्रै प्रगति भएको छ भने सडक तर्फ भने ५३ प्रतिशत प्रगति देखिएको छ । बैंककबाट शुरू भई म्यानमार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टा प्रवेश गर्ने एसियन हाइवे पश्चिमतर्फ दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म जोडिनेछ । यस सडकलाई तीन भागमा वर्गीकरण गरिएको छ— बजार क्षेत्र, जङ्गल क्षेत्र, र ग्रामीण क्षेत्र ।
बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माणको काम भइरहेको कांकरभिट्टा लौकही सडक योजना पूर्वी खण्डका प्रमुख पन्तको भनाई छ । विशेष गरी शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ तथा आधुनिक ढल निकास प्रणालीसहितको सडक निर्माण हुनेछ । झापाको चारआली, बिर्तामोड, चारपाने, मोरङको बलिया र सुनसरीको इटहरी चोक क्षेत्रमा ओभर पास निर्माण गरिने योजना छ । उक्त योजना अनुसार नै बिर्तामोडको मुक्ति चोकमा रहेको स्तम्भ समेत हटाइएको छ । अहिले बिर्तामोडको बजार क्षेत्रको सडक विस्तारको काम धमाधम रुपमा अघि बढी रहेको छ ।
कांकरभिट्टा–लौकही सडक खण्डको स्तरोन्नतिले झापाको यातायात प्रणाली मात्र बदल्ने होइन, जिल्लाको आर्थिक गतिविधि, व्यापार, उद्योग, कृषि, पर्यटन र सहरी विकासको स्वरूपसमेत परिवर्तन गर्ने अपेक्षा गरिएको छ । तर, निर्माणको गति र तोकिएको समयसीमाबीच देखिएको अन्तरले नागरिकमा उत्साहसँगै चिन्ता पनि थपेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा अघि बढाइएको यो आयोजना काकरभिट्टादेखि लौकहीसम्मको करिब १२० किलोमिटर सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत अघि बढेको हो । आयोजनाको लागत करिब ३० करोड अमेरिकी डलर रहेको छ ।
२०२४ फेब्रेवरी २ तारिखबाट निर्माण शुरु भएको एसियन हाइवे निर्माणमा शुरुवातका केही ढिलाइ भए पनि हाल धमाधम काम भइरहेको बताइएको छ । विद्युत्का पोल स्थानान्तरण, निर्माण सामग्रीको अभाव, सडक क्षेत्रमा रहेका संरचना हटाउने काम तथा कालोपत्रका लागि आवश्यक बिटुमिनको आपूर्तिजस्ता समस्याले निर्माण कार्य केही सुस्त भए पनि हाल भने कामले गति लिएको प्रमुख पन्तको भनाई छ । विशेषगरी विद्युत्का पोल नहट्दा केही स्थानमा सडक निर्माण अघि बढाउन कठिनाइ भएको आयोजनाले जनाएको छ ।
एसियन हाइवे निर्माण सम्पन्न भएपछि स्थलमार्ग भएर पूर्वी नाका कांकरभिट्टाबाट आउने पर्यटकको समेत वृद्धि हुने अपेक्षा गरिएको छ भने भारतसहित बंगलादेश, भुटान तथा पाकिस्तान लगायतका देशहरूसँगको व्यापार बढेर जाने अपेक्षा गरिएको छ । सडक स्तरीय भएपछि मालवाहक सवारीसाधनको आवागमन सहज हुनेछ । यात्राको समय घट्ने छ । एसियन हाइवे अवधारणा नेपालको सडकलाई छिमेकी मुलुक हुँदै एसियाली व्यापारिक मार्गसँग जोड्ने ठूलो योजनाको हिस्सा भएको सरोकारवालाको भनाई छ । यो सडक निर्माण कार्यलाई सम्पन्न गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको आयोजना प्रमुख पन्तको भनाई छ ।
निर्माण सामग्रीको अभाव हुँदा केही समस्या भएकाले माटो, गिटी, बालुवा लगायतका कच्चपर्दाथ उपलब्ध गराउने विषयमा सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको प्रमुख पन्तले बताए । हालसम्म पहिलो चरणको मात्रै काम भएको र अन्तिम कालोपत्रे गर्ने काम भने कतै शुरु नभएको उनको भनाई छ । निर्माण सामग्री चिप्समा समस्या नभए छिट्टै अन्तिम तहको कालोपत्रे समेत शुरु गर्ने योजनामा रहेको उनको भनाई छ । उनले चार महिना अझै समय रहेकाले उक्त अवधिभित्रमा ९० प्रतिशत काम फाइनल गर्ने योजनामा आफूहरू लागि परेको जानकारी दिए ।