२०८३ आश्विन १६ गते , शुक्रबार

झापामा ‘जेन–जी’ आन्दोलनका शहीद परिवार र घाइतेको प्रोफाइल तयार गरिँदै

sajilo news
झापा
२०८३ आश्विन १६ गते , शुक्रबार
झापामा ‘जेन–जी’ आन्दोलनका शहीद परिवार र घाइतेको प्रोफाइल तयार गरिँदै

भद्रपुर । सरकारले  ‘जेन–जी आन्दोलन’का शहीद परिवार तथा घाइतेहरूको पुनर्स्थापना, जीवनयापन तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न अघि सारेको एकीकृत प्याकेजअन्तर्गत झापामा शहीद परिवार तथा घाइतेहरूको प्रोफाइल तयार गर्न थालिएको छ।

जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको विवरणअनुसार जिल्लामा शहीद परिवार दुई जना र हालसम्म सम्पर्कमा आएका घाइते ६० जना रहेको उल्लेख छ। त्यसमध्ये ३७ जना घाइते परिचय पत्र लिइसकेका छन् । तीमध्ये स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट घाइतेको अवस्थाअनुसार २८ जनाको वर्गीकरण भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सरकारले घोषणा गरेको निःशुल्क स्वास्थ्य उपचार, निःशुल्क शिक्षा, रोजगारीलगायतका एकीकृत राहत प्याकेजलाई शहीद परिवार तथा घाइतेहरूको वास्तविक माग र आवश्यकतासँग जोड्न प्रोफाइल तयार गर्न लागिएको हो।

अनलाइन फाराममार्फत तयार गरिने प्रोफाइलमा शहीद परिवार तथा घाइतेहरूको व्यक्तिगत विवरण, घटनासम्बन्धी विवरण, आर्थिक तथा सामाजिक अवस्था र सरकारसँगको अपेक्षालगायतका विषय समेटिने कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले सम्बन्धित शहीद परिवार तथा घाइतेहरूलाई आफ्नो विवरण अद्यावधिक गर्न अनुरोधसमेत गरेको छ। प्रोफाइल तयार भएपछि शहीद परिवार तथा घाइतेहरूको अवस्था र अपेक्षालाई सरकारले अघि सारेको एकीकृत राहत प्याकेजसँग प्रत्यक्ष रूपमा जोड्न तथा अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने कार्यालयको विश्वास छ।

प्रोफाइल तयार गर्ने कार्यका लागि आवश्यक समन्वय र सहजीकरण गर्न हालसम्म सम्पर्कमा नआएका जेन–जी आन्दोलनका घाइतेहरूलाई समेत यथाशीघ्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।
 

सम्बन्धित समाचार