२०८३ आश्विन १६ गते , शुक्रबार

भद्रपुरको सूर्यनगरमा सार्वजनिक दुर्गा पूजा महोत्सवको तयारी शुरु

sajilo news
झापा
२०८३ आश्विन १६ गते , शुक्रबार
भद्रपुरको सूर्यनगरमा सार्वजनिक दुर्गा पूजा महोत्सवको तयारी शुरु

भद्रपुर । झापाको भद्रपुर नगरपालिका–३, सूर्यनगरमा यसवर्ष पनि सार्वजनिक दुर्गा पूजा महोत्सव आयोजना हुने भएको छ। धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले चौथो संस्करणको दुर्गा पूजा महोत्सव हुन लागेको हो । दुर्गा पूजाको पण्डाल निर्माण कार्यको शुक्रबार एक समारोहबीच औपचारिक शुभारम्भ गरिएको छ।

विगत चार वर्षदेखि निरन्तर आयोजना हुँदै आएको दुर्गा पूजा महोत्सव यस वर्ष पनि सूर्यनगरस्थित धिमालधुरा चोकमा भव्य रूपमा सञ्चालन गर्न लागिएको आयोजक समितिले जनाएको छ। महोत्सव सञ्चालनका लागि अध्यक्ष विवेक आचार्य, सचिव शुक्लो टुडु र कोषाध्यक्ष उषा भुजेलसहित १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ। समितिले पूजा व्यवस्थापन तथा महोत्सव सञ्चालनको सम्पूर्ण तयारी अघि बढाइरहेको जनाएको छ।

दसैँभरि सञ्चालन हुने महोत्सवमा दुर्गा भवानीको विधिवत् पूजा–आराधनासँगै हरेक साँझ भजन–कीर्तन, विभिन्न सामूहिक खेलकुद तथा विविध सांस्कृतिक र सांगीतिक कार्यक्रम आयोजना गरिनेछ।

यस वर्षको पूजा महोत्सवलाई थप भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक समितिले जनाएको छ। पूजा महोत्सव सफल बनाउन आयोजक समितिका तर्फबाट समाजसेवी सम्सेर मोक्तानले बुद्धिजीवी, समाजसेवी, व्यवसायी, शुभेच्छुक तथा सम्पूर्ण सूर्यनगरवासीसँग सहयोगका लागि आग्रह गरेका छन्। उनले देश–विदेशमा रहेका शुभेच्छुकलाई समेत आ–आफ्नो गच्छेअनुसार आर्थिक सहयोग, साथ र सद्भाव प्रदान गरिदिन अपिल गरेका छन्।

आयोजकका अनुसार दुर्गा पूजा महोत्सवलाई धार्मिक आस्थासँगै स्थानीय कला, संस्कृति र सामाजिक एकतालाई जोड्ने साझा उत्सवका रूपमा अघि बढाउने तयारी गरिएको छ।

सम्बन्धित समाचार