२०८३ आश्विन १६ गते , शुक्रबार

‘कम्प्रोमाइज’ गरे फिल्ममा बढी रकमको अफर

sajilo news
एजेन्सी
२०८३ आश्विन १६ गते , शुक्रबार
‘कम्प्रोमाइज’ गरे फिल्ममा बढी रकमको अफर

भारतीय मनोरञ्जन क्षेत्रमा कास्टिङ काउचको विषय पटक–पटक चर्चामा आउने गरेको छ । विभिन्न अभिनेत्रीले आफ्नो करिअरका क्रममा यस्ता प्रस्ताव सामना गरेको अनुभव सार्वजनिक गर्दै आएका छन् । टेलिशृंखला ‘जोधा अकबर’मा रुकैया बेगमको भूमिका निर्वाह गरेर चर्चामा आएकी अभिनेत्री लविना टन्डनले पनि आफूले कास्टिङ काउचको सामना गरेको खुलासा गरेकी छन् ।

एक अन्तर्वार्तामा लविनाले करिअरको सुरुवाती समयमा आफूलाई दुई पटकसम्म कास्टिङ काउचको प्रस्ताव आएको बताएकी छन् । कुराकानीका क्रममा उनले ग्ल्यामर क्षेत्रमा काम गर्ने महिलालाई लिएर समाजमा गलत धारणा बन्ने गरेको समेत बताएकी छन् ।

लविनाका अनुसार, धेरै वर्षअघि दक्षिण भारतीय फिल्म निर्माण गर्ने एक व्यक्तिले उनलाई चलचित्रमा काम गर्ने प्रस्ताव गरेका थिए । उक्त काम १०–१५ दिनको मात्रै हुने बताउँदै पारिश्रमिकबारे कुराकानी भएको उनले बताएकी छन् ।

‘मैले बजेट कति हो भनेर सोधेकी थिएँ । उहाँले पाँच लाख रुपैयाँ बजेट रहेको बताउनुभयो । त्यसपछि यदि म ‘कम्प्रोमाइज’ गर्न तयार भए सात लाख रुपैयाँ हुने प्रस्ताव गर्नुभयो,’ लविनाले भनेकी छन् । उनले आफूलाई आएको उक्त प्रस्ताव अस्वीकार गरेको बताएकी छन् । ‘मैले उहाँको इमानदारीको सम्मान गर्छु, तर म यस्तो काम गर्न सक्दिनँ भनेकी थिएँ,’ उनले सुनाएकी छन् ।

ग्ल्यामर क्षेत्रमा काम गर्ने कलाकारले व्यावसायिक कामकै क्रममा विभिन्न पुरुष कलाकारसँग सहकार्य गर्ने तथा रोमान्टिक दृश्यमा अभिनय गर्ने भए पनि त्यसलाई आफ्नो व्यक्तिगत चरित्रसँग जोडेर हेर्न नहुने लविनाको भनाइ छ । उनले आफूलाई कास्टिङ काउचका विषयमा जम्मा दुईपटक मात्रै प्रस्ताव आएको समेत बताएकी छन् ।

सम्बन्धित समाचार