झापाका सीमावर्ती बजारमा भारतीय चिट्ठाको कारोबार, एक जना पक्राउ
झापा । झापामा प्रतिबन्धित भारतीय चिट्ठा र नगद रकमसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६, काँकडभिट्टाका ४५ वर्षीय गेलु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा शनिबार बिहान करिब ११ बजे शेर्पालाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि उनको घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा प्रहरीले ‘रोयल’ लेखिएको भारतीय चिट्ठा १३ बुङ बरामद गरेको छ । प्रत्येक बुङमा १०० वटाका दरले चिट्ठा रहेकाले कुल १ हजार ३०० थान चिट्ठा बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, प्रहरीले शेर्पाको घरबाट नेपाली नगद ३६ हजार ५०० रुपैयाँसमेत बरामद गरेको छ । बरामद रकममा १ हजार दरका १८ थान नोटबाट १८ हजार, ५०० दरका २४ थानबाट १२ हजार, १०० दरका ६१ थानबाट ६ हजार १०० र ५० दरका आठ थानबाट ४०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका शेर्पालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
सीमावर्ती बजारमा भारतीय चिट्ठाको कारोबार
झापाको भारतसँग जोडिएको सीमावर्ती क्षेत्र काँकडभिट्टा र भद्रपुरमा भारतीय चिट्ठाको कारोबार लामो समयदेखि चुनौतीका रूपमा देखिँदै आएको छ । स्थानीयका अनुसार भारतको पश्चिम बङ्गाल, सिक्किम र नागाल्यान्डलगायतका क्षेत्रमा बिक्री हुने विभिन्न प्रकारका चिट्ठा सीमावर्ती बजारमा समेत पुग्ने गरेका छन् । यसको कारोबार गर्नेहरु नेपाली र भारतीय युवकहरु रहेका छन् । स्थानीयस्तरमा खुलेआम रूपमा चिट्ठा बिक्री–वितरण हुने गरेको गुनासो आउने गरेको छ । चिट्ठाको कारोबारबाट दैनिक ठूलो रकम भारततर्फ जाने गरेको स्थानीयको दाबी छ । चिट्ठाको लतमा परेर कतिपय व्यक्ति आर्थिक रूपमा संकटमा परेको र घरपरिवारमा समेत समस्या उत्पन्न भएको स्थानीयहरु बताउँछन् । चिट्ठा नियन्त्रण तथा रोकथामका लागि स्थानीयले प्रहरी र प्रशासनसँग पटक–पटक आग्रह गर्दै आए पनि प्रभावकारी नियन्त्रण हुन नसकेको गुनासो छ ।
सीमावर्ती क्षेत्रमा हुने यस्ता कारोबारले सर्वसाधारणको रकम बाहिरिने मात्र नभई गैरकानुनी आर्थिक गतिविधिलाई समेत प्रोत्साहन गर्ने भएकाले यसको निगरानी र नियन्त्रण आवश्यक रहेको स्थानीयको भनाइ छ । यसअघि पनि झापाको सीमावर्ती क्षेत्रमा प्रतिबन्धित भारतीय चिट्ठाको कारोबारमा संलग्न व्यक्तिमाथि प्रहरीले कारबाही गर्दै आएको छ । पछिल्लो पक्राउले पनि सीमावर्ती क्षेत्रमा चिट्ठाको अवैध कारोबार अझै पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको देखाएको छ ।
चिट्ठा बिक्री–वितरणमा कानुनले के भन्छ ?
नेपालमा चिट्ठाको कारोबारलाई चिट्ठा ऐन, २०२५ ले नियमन गरेको छ । ऐनको दफा २ अनुसार नेपाल सरकारको अनुमति प्राप्त गरेको अवस्थामा बाहेक कसैले चिट्ठाको खरिद–बिक्री गर्ने वा गराउने काम गर्न पाउँदैन । ऐनले विदेशी मुलुकबाट नेपालमा चिट्ठा वा त्यस्तो चिट्ठासम्बन्धी विज्ञापन ल्याउने, झिकाउने, बिक्री–वितरण गर्ने तथा त्यस्तो चिठ्ठाबाट प्राप्त आम्दानी वा चिट्ठाको बिक्री–वितरणसम्बन्धी लगत नेपालबाहिर पठाउने कार्यलाई समेत निषेध गरेको छ । त्यसैगरी, चिट्ठासम्बन्धी कामका लागि कुनै घरजग्गा प्रयोग गर्ने वा प्रयोग गर्न दिने व्यक्तिमाथि पनि कानुनी कारबाहीको व्यवस्था गरिएको छ । कानुन उल्लङ्घन गरेको अवस्थामा बिगो जफत गरी बिगो बराबर जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था चिट्ठा ऐनमा रहेको छ ।