२०८३ आश्विन १७ गते , शनिबार

काँकडभिट्टा-पानीटंकी बोर्डरमा सुनचाँदीसहित ४ भारतीय पक्राउ

sajilo news
झापा
२०८३ आश्विन १७ गते , शनिबार
काँकडभिट्टा-पानीटंकी बोर्डरमा सुनचाँदीसहित ४ भारतीय पक्राउ

पूर्वी नेपालको काँकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन्। नयाँ मेची पुलमा नियमित जाँचका क्रममा सशस्त्र सीमा बल (एसएबसी) ४१औँ बटालियन, रानीडाँगाको टोलीले शुक्रबार बिहान भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी ७४ बीयू १२७४ नम्बरको मारुती सुजुकी एर्टिगा गाडी रोकेको थियो।

चेकजाँचका क्रममा गाडीमा सवार धनजित पटगिरीको साथबाट सुन र चाँदीजस्ता बहुमूल्य धातु तथा सिक्का फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो। साथै गाडीमा रहेका अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको सशस्त्र सीमा बलले जनाएको छ। बरामद सामग्री अनुसार करिब १०० ग्राम चाँदीको सिक्का १ थान, १०–१० ग्रामका सुनका बार ४ थान, २० ग्राम बराबरका सुनका सिक्का ३ थान बरामद गरिएको हो ।

पक्राउ पर्नेहरूमा धनजित पटगिरी, आशिष् पोद्दार, विकास अग्रवाल र चालक नबा कुमार राय रहेका छन्। उनीहरू सबै भारतीय नागरिक हुन्। बरामद गरिएको सुन–चाँदी, गाडी र पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि पानीटंकी भन्सार कार्यालयमा बुझाइएको छ। उनीहरूमाथि भन्सार ऐन, १९६२ अनुसार थप प्रक्रिया अघि बढाइने जनाइएको छ। यसअघि काँकडभिट्टा नाकाबाट तत्कालीन डिएसपी विकास थापाको टोलीले सुन र डलर बरामद गरेको थियो । नेपालतर्फ अहिले सुरक्षा व्यवस्था कमजोर भएको मौका छोप्दै तस्करहरूले सुनचाँदी काँकडभिट्टा नाकाबाट तस्करी गर्ने गरेको विशेष स्रोतको दाबी छ।

सम्बन्धित समाचार