२०८३ आश्विन १८ गते , आईतबार

झापाका चियामा हानिकारक कृत्रिम रंग मिसावट, ‘रिकल’ गर्न विभागको निर्देशन

sajilo news
पार्थ मण्डल
२०८३ आश्विन १७ गते , शनिबार
झापाका चियामा हानिकारक कृत्रिम रंग मिसावट, ‘रिकल’ गर्न विभागको निर्देशन

झापा । बजारमा बिक्री भइरहेको झापाका टी प्रोसेसिङ उद्योगहरुको उत्पादनमा स्वास्थ्यका लागि जोखिमपूर्ण मानिने कृत्रिम रंग मिसावट भएको पाइएको छ । टी प्रोसेसिङ उद्योगहरुको उत्पादनमा कृत्रिम रंग मिसावट भएको पाइपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्बन्धित व्यवसायीलाई उक्त चिया बजारबाट फिर्ता (रिकल) गर्न ठाडो निर्देशन दिएको छ।

विभागले नियमित अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरेको चियाको नमुना प्रयोगशालामा परीक्षण गर्दा कृत्रिम बाह्य रङ्गको मिसावट भएको पाइएको जनाएको छ। विभागका अनुसार परीक्षणका क्रममा आर्टिफिसियल फुड कलर सेंथेटिक ( टार्ट्राजिन सनसेट यल्लो) कृत्रिम खाद्य रंग मिसाइएको भेटिएको हो।

विभागले गत असोज ८ गते नै सम्बन्धित व्यवसायीलाई उक्त चिया बजारबाट फिर्ता गर्न आदेश दिएको जनाएको छ। साथै, सोही उद्योगबाट उत्पादित अन्य उत्पादनलाई समेत रोक्का राखी थप अनुसन्धान भइरहेको जानकारी गराइएको छ।

यसैबीच, साई कृपा चिया उद्योग प्रालि, रुपन्देहीले नेपाल चिया उत्पादक संघ, झापालाई पत्र पठाउँदै आफ्नो उत्पादनको गुणस्तर कायम गर्न प्रतिबद्ध रहेको जनाएको छ। उद्योगले ‘साई कृपा गोल्ड टी’ १००० ग्राम, ब्याच नम्बर ८३ डी ०५, उत्पादन जुलाई २०२६ को चियामा कृत्रिम खाद्य रंग मिसावट भएको सम्बन्धमा विभागबाट जानकारी प्राप्त भएको उल्लेख गरेको छ। उद्योगले उक्त विषयमा आफूले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाउँदै चियाको गुणस्तर कायम राख्न तथा कुनै पनि किसिमको मिसावट नगर्न मातहतका उत्पादक संघ तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने चियामा कृत्रिम बाह्य रंग मिसाउने वा अन्य कुनै किसिमको मिसावट गर्ने कार्य नगर्न सम्पूर्ण चिया उत्पादक, प्रशोधनकर्ता, प्याकेजिङकर्ता तथा बिक्री वितरकलाई सचेत गराएको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ। विभागको सूचनामा उपभोक्ताको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले बजारमा रहेका सम्बन्धित ब्याचका उत्पादनको अवस्थाबारे थप अनुसन्धान भइरहेको उल्लेख छ।

सम्बन्धित समाचार