ऐतिहासिक दुर्गा शक्ति पीठ गरामनीमा महायज्ञको तयारी तीब्र
बडादशैको अवसरमा झापाको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थल गरामनीको दुर्गा शक्ति पीठमा असोज २५ गते घटस्थापनादेखि ३१ गते सप्तमीसम्म श्री पद्म महापुराण ज्ञान महायज्ञ हुने भएको छ । बडादशैको अवसरमा अनादिकालदेखिको गरामनी शक्तिपीठमा विगत १५ वर्षदेखि पुराण लाग्दै आएको छ । गत वर्ष जेनजी आन्दोलनका कारण पुराण नलगाई चण्डी पाठ गरिएको थियो ।
असोज २५ गते घटस्थापनाका दिन शोभायात्रा र पुराण समुद्घाटन गरी सोही दिन पाठपारायण तथा कथा प्रारम्भ गरिने भएको छ । त्यस्तै असोज २६ गतेदेखि ३१ गतेसम्म बिहान ७ बजेबाट मण्डप पूजन , पाठ प्रारम्भ , बिहान १०.३० बजेदेखि दिउँसो ३.३० बजेसम्म कथा वाचन , बेलुका ६ बजेदेखि राति ९ बजेसम्म सन्ध्याकालीन महाआरती(गंगा आरती), भजन सन्ध्या हुने भएको छ । त्यस्तै असोज ३० गते लक्ष्यदीप प्रज्वलन र असोज ३१ गते यज्ञ समापन र तिलक प्रसाद वितरण गरिने दुर्गा शक्ति पीठ मन्दिर संरक्षण समिति तथा पुराण मूल आयोजक समितिका सचिव नवराज भट्टराईले बताए ।
जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले उद्घाटन गर्ने पुराणमा आचार्य पण्डित मुकुन्द नेपाल प्रमुख वाचक र आचार्य पण्डित मोहन घिमिरे उपवाचक रहने छन् । पुराण सम्पन्न गर्न विभिन्न उपसमितिहरू निर्माण गरिएको छ । मन्दिर समितिकी कार्यवाहक अध्यक्ष मनमाया शिवाकोटीको संयोजकत्वमा अतिथि सत्कार, चिरञ्जीवी कार्कीको संयोजकत्वमा आर्थिक , कौशिला सिटौलाको संयोजकत्वमा कीर्तन मण्डली तथा धार्मिक संघ संस्था , मोहन घिमिरेको संयोजकत्वमा गुरु , मण्डप तथा पूजापाठ , राजवंशी समाज विकास समितिको संयोजकत्वमा स्वयंसेवक र रोहत ओलीको संयोजकत्वमा प्रचारप्रसार, साउन्ड तथा टेन्ट उपसमिति गठन गरिएको छ ।
आजीवन सदस्य वृद्धि र अक्षयकोष निर्माण गर्ने उद्देश्य राखेर पुराण आयोजना गरिएको दुर्गा शक्ति पीठ मन्दिर संरक्षण समितिका सचिव भट्टराईले जानकारी दिएका छन् ।