२०८३ आश्विन १८ गते , आईतबार

भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने

sajilo news
झापा
२०८२ चैत्र ३० गते , सोमबार
भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता हुने

भद्रपुर । झापाको भद्रपुरमा ‘प्रथम फर्कियो जोवन भेट्रान्स कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। फर्कियो जोवन भेट्रान्स क्लब भद्रपुर (वडा नं. ३ र ४) को आयोजनामा वैशाख २ गतेदेखि ४ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाइएको छ।

भद्रपुर–३ र ४ स्थित आपगाछी मेची ग्राउन्डमा हुने प्रतियोगितामा झापा जिल्लाभरिका आठवटा टोलीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष विश्व थापाले जानकारी दिए।

मेची खोलाको किनारमा रहेको आपगाछी मेची ग्राउन्डको प्रचार–प्रसार तथा संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष थापाको भनाइ छ। नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगितामा कुल सात वटा खेल सञ्चालन हुनेछन्।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताले लागुऔषध नियन्त्रण तथा उमेर बढेसँगै देखिने स्वास्थ्य समस्यालाई खेलकुदमार्फत नियन्त्रण गर्न सकिने सन्देश दिने आयोजक क्लबका सचिव अभिषेक लिम्बुले बताए।

प्रतियोगितामा प्रथम हुने टोलीले ३० हजार रुपैयाँ र द्वितीय हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २ हजार रुपैयाँ तथा अन्य विधागत उत्कृष्ट खेलाडीहरूले जनही १ हजार १ सय रुपैयाँ पुरस्कार पाउने उपाध्यक्ष संजीवकुमार राजवंशीले जानकारी दिए।

प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रथम पुरस्कारको सौजन्य निर्माण व्यवसायी राजकुमार राई र द्वितीय पुरस्कारको सौजन्य समाजसेवी बमबहादुर कोइरालाले गरेका छन्।

कार्यक्रम सफल बनाउन भद्रपुर नगरपालिका, वडा नं. ३, ओम साई पाथिभरा हस्पिटल, होटल एयरपोर्ट, कोकाकोला लगायत विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गर्ने जनाइएको छ।

२०७९ सालमा स्थापना भएको क्लबमा हाल ३५ जना सदस्य आबद्ध रहेका छन्। प्रतियोगिता सम्पन्न भएपछि बचत भएको रकम सामाजिक कार्यमा खर्च गरिने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार