२०८३ आश्विन १८ गते , आईतबार

झापामा निर्वाचन आचारसंहिता उल्लघंनका घटना बढ्यो, पालना गर्न प्रशासनको आग्रह

sajilo news
पार्थ मण्डल
२०८२ फाल्गुन १२ गते , मंगलबार
झापामा निर्वाचन आचारसंहिता उल्लघंनका घटना बढ्यो, पालना गर्न प्रशासनको आग्रह

झापा । झापामा निर्वाचन आचारसंहिता उल्लघंनका घटना बढिरहेकोले त्यसलाई पालना गर्न प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज विज्ञप्ति निकाल्दै उम्मेदवार तथा राजनीतिक दलहरूलाई यस्तो आग्रह गरेको हो ।

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार एवं राजनीतिक दलहरूले आआफ्नो तर्फबाट आयोजना गरेका सभा, भेला, र्‍याली, जुलुस, कोण सभा, घरदैलो जस्ता कार्यक्रमहरूमा एक अर्काप्रति लाञ्छना लगाउने, गालीगलौज गर्ने, दल तथा उम्मेदवारको झण्डा वा ब्यानरहरू जलाउने, कोही कसैप्रति घृणा वा द्वेष फैलाउने, हुल हुज्जत गर्ने, व्यक्तिका निजी घर तथा सार्वजनिक स्थल लगायतका ठाउँमा निर्वाचन आचारसंहिता विपरीत उम्मेदवार पार्टीका झण्डा र ब्यानर लगायतका सामग्रीहरू राख्ने जस्ता गतिविधिहरू हुन थालेको भन्ने गुनासो प्राप्त भएको छ ।

मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समितिको बैठक बसी त्यस्ता गतिविधिहरू नगर्न /नगराउन अनुरोध गर्ने साथै गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएकोले निर्वाचन आचारसंहिता पूर्ण पालना गरी निर्वाचन सम्बन्धी गतिविधिहरू गर्न/गराउन सबैमा जानकारी गराइन्छ भनी निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रकाश प्रसाईँले हस्ताक्षर गरेको प्रशासनको विज्ञप्ति उल्लेख छ । 

सम्बन्धित समाचार