२०८३ आश्विन १८ गते , आईतबार

सुखानी दिवस : ओली र प्रचण्ड-माधव गुटले छुट्टाछुट्टै कार्यक्रम गर्दै, अर्जुनधारामा स्थानीय बिदा

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २० गते , विहीबार
सुखानी दिवस : ओली र प्रचण्ड-माधव गुटले छुट्टाछुट्टै कार्यक्रम गर्दै, अर्जुनधारामा स्थानीय बिदा

झापा । पञ्चायती शासनविरुद्ध विद्रोह गर्दा वि.सं. २०२९ फागुन २१ गते सुखानीको जंगलमा हत्या गरिएका शहीदहरूलाई सत्तारूढ नेकपाको ओली र प्रचण्ड-माधव समूहले गुटगत स्वार्थको अस्त्र बनाउन खोजेका छन्‌। 

भोलि (शुक्रबार) ४८ औं सुखानी दिवस परेको छ। दिवसका दिन केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल 'प्रचण्ड'-माधवकुमार नेपाल समूहका नेकपा कार्यकर्ताहरूले भोलि छुट्टाछुट्टै श्रद्धाञ्जली सभाको आयोजना गर्न लागेको जानकारी प्राप्त भएको छ। 

भूमिगत कम्युनिस्ट पार्टीका तत्कालीन मेची–कोशीको–अर्डिनेसन कमिटीबाट विद्रोह गरेर बनेको को–अर्डिनेसन कमिटी झापाले वर्ग शत्रु खतम अभियान र तत्कालीन पञ्चायती दमनको विरुद्ध मोर्चाबन्दी गरी झापा विद्रोह गरेको थियो। सो विद्रोहमा सहभागी भएको आरोपमा पक्राउ परेका पाँच जना योद्धालाई चन्द्रगढी कारागारबाट इलाम कारागार सार्ने बहानामा २०२९ फागुन २१ गते सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो। 

पञ्चायती शासकले झापा विद्रोहका योद्धाहरू नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई इलाम र झापाको सिमानामा पर्ने दानावारीस्थित सुखानीमा हत्या गरेको थियो।

घिमिरे, कुइँकेल र श्रेष्ठ गरामनि, दाहाल चारपाने तथा राजवंशी ज्यामीरगढीका बासिन्दा थिए। उनीहरूलाई हत्या गरिएकै स्थानमा अहिले शहीदकै सङ्ख्याका पाँच रुख र पूर्ण कदको सालिक बनाइएको छ।

अर्जुनधारामा बिदा

झापाको अर्जुनधारा नगरपालिकाले भोलि (शुक्रबार) नगरपालिकाभित्र स्थानीय बिदा दिएको छ। फागुन २१ अर्थात् ४८ औँ सुखानी दिवसको अवसरमा नगरपालिकाले स्थानीय बिदा दिएको नगरपालिकाका मेयर हरि राणाले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ। 

शुक्रबार नगरपालिका अन्तर्गतका सबै कार्यालयहरू बन्द रहने जनाइएको छ। झापाको खुदुनाबारी र इलामको दानाबारी नजिकैको सुखानी जंगलस्थित सुखानी पार्कमा ४८ औँ सुखानी दिवस अवसरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।

सम्बन्धित समाचार