२०८३ आश्विन १६ गते , शुक्रबार

नेपालबाट भारततर्फ मकै तस्करी, एक जना पक्राउ

sajilo news
झापा
२०८३ आश्विन १६ गते , शुक्रबार
नेपालबाट भारततर्फ मकै तस्करी, एक जना पक्राउ

नेपालबाट भारततर्फ मकै तस्करी गर्दा एक जना तस्कर पक्राउ परेका छन् । भारत–नेपाल सीमामा एसएसबीले एक जना तस्करलाई पक्राउ गरेको हो ।  ५२ औं बटालियन सशस्त्र सीमा बल (एसएसबी) को सिक्टी बाहिरी सीमा चौकीका सुरक्षाकर्मीहरूले लगभग ७०० केजी मकै जफत गरेका छन् । मकैले भरिएका १४ वटा जुटका बोरा र सातवटा साइकल बरामद गरिएको छ भने एक जनालाई नियन्त्रणमा लिइएको छ। अन्य तस्करहरू नेपालतर्फ भाग्न सफल भएका थिए।

एसएसबीका अनुसार बुधवार राति ८ः२० बजेतिर भारत–नेपाल सीमाको पिलर नम्बर १६०/१ र १६१ बीचबाट तस्करहरुले मकै लाँदै गरेको गस्ती टोलीले जानकारी पाएपछि कम्पनीको मुख्यालय सिक्टीलाई जानकारी गराएर क्युआरटी घटनास्थलमा पठाइएको थियो। निगरानीको क्रममा केही व्यक्तिहरू साइकलमा जुटका बोरा लोड गरेर नेपालतर्फबाट भारतीय क्षेत्रमा प्रवेश गरिरहेको देखिएको थियो। सुरक्षाकर्मीहरूले घेराबन्दी गरेर तस्करहरूलाई पछ्याएका थिए । त्यसक्रममा एक जना पक्राउ परेका थिए भने अन्य तस्करहरू साइकल र मकै छोडेर नेपालतिर भागेका थिए ।

पक्राउ परेका व्यक्तिको पहिचान अली हुसेनको रूपमा गरिएको छ, जो अररिया जिल्लाको सिक्टी प्रहरी चौकी मुरारीपुरका बासिन्दा हुन्। एसएसबीले जफत गरिएको ७०० किलो मकै, सातवटा साइकल र पक्राउ परेका व्यक्तिलाई थप कारबाहीको लागि भन्सार विभागमा बुझाएको छ।

सम्बन्धित समाचार