२०८३ आश्विन १७ गते , शनिबार

धुलाबारीमा पम्प सुरक्षागार्डमाथि सांघातिक कुटपिट, १२ दिनसम्म आरोपी पक्राउ नपरेपछि प्रहरीमाथि प्रश्न

sajilo news
पार्थ मण्डल
२०८३ भाद्र २९ गते , सोमबार
धुलाबारीमा पम्प सुरक्षागार्डमाथि सांघातिक कुटपिट, १२ दिनसम्म आरोपी पक्राउ नपरेपछि प्रहरीमाथि प्रश्न

झापा । मेचीनगर–९ का धर्मप्रसाद ओलीले आफूलाई सार्वजनिक स्थलमै सामूहिक रूपमा कुटपिट गरी गम्भीर घाइते बनाउने व्यक्तिमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्। घटना भएको १२ दिन बितिसक्दा पनि किटानी जाहेरीमा उल्लेख गरिएका व्यक्तिहरू पक्राउ नपरेको भन्दै ओलीले प्रहरीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन्।

मेचीनगर–१० स्थित नन्दा पेट्रोल पम्पमा हनुमान सेक्युरिटी कम्पनीमार्फत सुरक्षागार्डका रूपमा कार्यरत ओलीमाथि गत भदौ १७ गते साँझ पेट्रोल पम्प परिसरमै कुटपिट भएको हो। कुटपिटमा मुनाल सेक्युरिटी कम्पनीका कुमार तामाङ, नरेन्द्र तामाङलगायत पाँच जना संलग्न रहेको आरोप पीडित पक्षले लगाएको छ।

घटनापछि ओलीकी श्रीमती पुष्पा गौतमले इलाका प्रहरी कार्यालय धुलाबारीमा किटानी जाहेरी दिएको बताइएको छ। तर जाहेरीमा नाम उल्लेख गरिएका कुमार तामाङ, नरेन्द्र तामाङलगायतका व्यक्तिलाई प्रहरीले अहिलेसम्म नियन्त्रणमा नलिएको ओलीको गुनासो छ।

पीडित पक्षले घटनालाई प्रहरीले राजनीतिकरण गरेको आरोपसमेत लगाएको छ। घटनामा संलग्न भनिएका व्यक्तिहरू खुलेआम हिँडिरहेको अवस्थामा समेत पक्राउ नगर्नुले आफूहरू थप असुरक्षित महसुस गरेको ओलीको भनाइ छ।

ओलीका अनुसार घटना हुनुअघि उनी ड्युटीमै थिए। तेल बोक्ने ट्यांकरको बिल–बिजक लिन उनी चालक बसेको स्थान नजिकैको पसलमा पुगेका थिए। त्यहाँ होटलभित्र रहेका अन्य व्यक्तिसँग हात मिलाउने क्रममा कुमार तामाङको कुम आफ्नो शरीरमा ठोक्किएको र आफूले सामान्य रूपमा ‘उत्तापट्टि त्यत्रो ठाउँ छ दाइ’ भनेको ओलीले बताए।

त्यसपछि तामाङ आवेगमा आएर आफ्नो घाँटी तथा छातीको कपडा समात्दै कुटपिट गर्न खोजेको ओलीको भनाइ छ। त्यस क्रममा सवारी चालक तथा स्थानीयले छुट्याएपछि आफू नन्दा पेट्रोल पम्पमा फर्किएर नियमित काममा लागेको उनले बताए। तर केही समयपछि कुमार तामाङ र नरेन्द्र तामाङसहित पाँच जना व्यक्ति गाडी तथा स्कुटरमा पेट्रोल पम्प परिसरमै आएको र आफूलाई समातेर सामूहिक रूपमा कुटपिट गरेको ओलीले आरोप लगाए।

नाकको हड्डी भाँचियो, चार दाँत झरे

कुटपिटबाट ओलीको नाकको भित्री डाँडीको हड्डी भाँचिएको तथा चार वटा दाँत झरेको पीडित पक्षले जनाएको छ। एउटा दाँतमा क्याप लगाउनुपरेको र छातीमा समेत भित्री चोट लागेको बिर्ता सिटी अस्पताल प्रशासनले जनाएको छ।

घटनाबाट शारीरिक तथा मानसिक रूपमा गम्भीर असर परेको भन्दै ओलीले आफूलाई कुटपिट गर्ने समूहलाई तत्काल पक्राउ गरी निष्पक्ष अनुसन्धान गर्न प्रहरीसँग माग गरेका छन्।

‘सार्वजनिक स्थलमै समूह बनाएर कुटपिट गर्दा पनि ११ दिनसम्म आरोपी पक्राउ नपर्नु गम्भीर विषय हो,’ ओलीले भने, ‘मलाई न्याय र सुरक्षाको अनुभूति हुने गरी घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्छ।’ पीडित पक्षले घटनामा संलग्न भनिएका व्यक्तिहरूमाथि तत्काल अनुसन्धान तथा कानुनी कारबाही अघि बढाउन माग गरेको छ।

सम्बन्धित समाचार