हल्दीबारीका दुई विद्यालयमा चम्लागाईं परिवारद्वारा ८ लाखको अक्षयकोष स्थापना
हल्दीबारी । हल्दीबारी गाउँपालिका निवासी चम्लागाईं परिवारले आफ्ना स्वर्गीय बुबा टेकबहादुर चम्लागाईंको पुण्य स्मृति र आमा भोलादेवी चम्लागाईंको सम्मानमा स्थानीय दुई विद्यालयमा कुल ८ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका छन्।
आफूहरूले अध्ययन गरेको विद्यालयको शैक्षिक विकास तथा भाइबहिनीहरूको पढाइमा सहयोग पुर्याउने उद्देश्यले पूर्व विद्यार्थी समेत रहेका पाँचै जना छोराछोरी—ज्ञानेन्द्रकुमार, फडेन्द्रकुमार, मुनादेवी (थापा), चम्पादेवी (ओली) र माया (थापा) चम्लागाईंको संयुक्त प्रयास तथा योगदानमा यी दुवै कोष स्थापना गरिएका हुन्। चम्लागाईं परिवारले हल्दीबारी माध्यमिक विद्यालयमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्दै प्रधानाध्यापक टङ्कबहादुर पाख्रिनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन्। यस कोषबाट प्राप्त हुने ब्याजमार्फत प्रत्येक वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत नेपाली र अङ्ग्रेजी माध्यमका उत्कृष्ट १० जना विद्यार्थीलाई दामासाहीका दरले छात्रवृत्ति प्रदान गरिने विद्यालय प्रशासनले जनाएको छ।
यसैगरी, हल्दीबारी–२ स्थित सरस्वती आधारभूत विद्यालयमा पनि पाँचै जना छोराछोरीको संयुक्त सहयोगमा ३ लाख रुपैयाँको अर्को अक्षयकोष खडा गरिएको छ। विद्यालयमा आयोजित विशेष कार्यक्रमका बीच छोराहरू पुगेर प्रधानाध्यापक गोविन्द बोहरालाई ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
स्व. पिताले जीवनभर विद्यालयको शैक्षिक सुधारमा पुर्याएको योगदानको कदर गर्दै स्थापित यस कोषको ब्याजबाट प्रत्येक वर्ष कक्षा ६ देखि ८ सम्मका उत्कृष्ट ६ जना (प्रत्येक कक्षाका एक छात्र र एक छात्रा) विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिनेछ। चेक हस्तान्तरण कार्यक्रममा परिवारका ज्येष्ठ सुपुत्र ज्ञानेन्द्रकुमार चम्लागाईंले आफूहरूले पढेको विद्यालयप्रति कृतज्ञता ज्ञापन गर्दै मातापिताको स्मृति र सम्मानलाई जीवन्त राख्न यो पहल गरिएको बताए। यता दुवै विद्यालयका प्रधानाध्यापकहरूले चम्लागाईं परिवारको यो प्रशंसनीय कार्यले स्थानीय शैक्षिक विकासमा ठूलो योगदान पुग्ने भन्दै धन्यवाद ज्ञापन गरेका छन्।