२०८३ भाद्र ६ गते , शनिबार

झापामा जबरजस्ती करणी गरी ८ महिनाको गर्भ बोकाएको आरोपमा एक पक्राउ

sajilo news
झापा
२०८३ भाद्र ६ गते , शनिबार
झापामा जबरजस्ती करणी गरी ८ महिनाको गर्भ बोकाएको आरोपमा एक पक्राउ

झापाको मेचीनगरमा एक युवतीलाई जबरजस्ती करणी गरी ८ महिनाको गर्भ बोकाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ निवासी ४० वर्षीय अशोककुमार राई रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल युवती १८ वर्ष पुगेर साबालक भए पनि नाबालिग हुँदादेखि नै राईले ललाईफकाई जबरजस्ती करणी गरेको आरोप छ । सोही घटनाका कारण युवती अहिले ८ महिनाको गर्भवती रहेको जनाइएको छ ।पीडित युवतीकी आमाले इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएपछि प्रहरीले शुक्रबार राईलाई पक्राउ गरेको हो ।

पीडित युवती र उनकी आमा न्यायका लागि मेचीनगर नगरपालिका पुगेका थिए । नगरपालिकाले बलात्कारसम्बन्धी मुद्दा प्रहरीबाटै अघि बढ्ने भन्दै उनीहरूलाई प्रहरी कार्यालय पठाएको बताइएको छ ।

पक्राउ परेका राई विवाहित रहेको र उनका श्रीमती तथा छोराछोरीसमेत रहेको प्रहरीले जनाएको छ । पीडित युवतीलाई हाल आफन्त नेपाल काँकडभिट्टाको संरक्षणमा राखिएको छ । राईलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार