२०८३ भाद्र ३ गते , बुधबार

प्रसिद्ध धार्मिकस्थल तारापीठको एक होटलमा आगलागी, मेघालयका एकै परिवारका पाँच जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८३ भाद्र २ गते , मंगलबार
प्रसिद्ध धार्मिकस्थल तारापीठको एक होटलमा आगलागी, मेघालयका एकै परिवारका पाँच जनाको मृत्यु

पश्चिम बंगालको वीरभूमस्थित प्रसिद्ध धार्मिकस्थल तारापीठको एक होटलमा भएको भीषण आगलागीमा परी एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मृतकहरू मेघालयको वेस्ट गारो हिल्सस्थित डालु चोइपानी निवासीका रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । 

मृत्यु हुनेमा राजेन्द्र नाथ, उनकी श्रीमती आशा नाथ, बुरान मोदक तथा १० वर्षीय शिवराज मोदक र ८ वर्षीय औशनाथ मोदक रहेका छन् । उनीहरू मेघालयबाट तारापीठ दर्शनका लागि गएको समूहमा सहभागी थिए । सोमबार बिहानै तारापीठस्थित होटल बिदेशिनीमा अचानक भीषण आगलागी हुँदा नौ जनाको मृत्यु भएको बताइएको छ । मृतकमध्ये पाँच जना मेघालयबाट तीर्थयात्राका लागि पुगेको उक्त परिवारका सदस्य रहेका हुन् ।

घटनामा दुई बालबालिकासमेत ज्यान गुमाएपछि दुर्घटना थप हृदय विदारक बनेको छ । १० वर्षीय शिवराज र ८ वर्षीय औशनाथको समेत आगलागीमा मृत्यु भएको हो । मेघालयबाट तीर्थयात्राका लागि गएको समूहका अन्य छ जनालाई भने उद्धार गरिएको छ । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ । धार्मिक यात्राका क्रममा भएको यस दुःखद घटनाले मृतकका परिवार तथा आफन्तमा गहिरो शोक छाएको छ ।

सम्बन्धित समाचार