२०८३ भाद्र १ गते , सोमबार

मिटरब्याजविरुद्ध झापामा पीडितको प्रदर्शन, प्रशासन–प्रहरी कार्यालय घेराउ

sajilo news
झापा
२०८३ भाद्र १ गते , सोमबार
मिटरब्याजविरुद्ध झापामा पीडितको प्रदर्शन, प्रशासन–प्रहरी कार्यालय घेराउ

झापाका मिटरब्याज पीडितहरूले सोमबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय झापा घेराउ गर्दै नाराबाजी गरेका छन् ।

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन संघर्ष समितिका अध्यक्ष लालबहादुर मगरको नेतृत्वमा पुगेका पीडितहरूले मिटरब्याज साहुलाई कारबाही गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने तथा भूमाफियामाथि कारबाही गर्नुपर्ने माग राख्दै नाराबाजी गरेका हुन् ।

करिब ७० जना सहभागी रहेको प्रदर्शनमा ‘मिटरब्याज साहुलाई कारबाही गर’, ‘कालोसूची बन्द गर’, ‘पक्राउ पुर्जी खारेज गर’, ‘भूमाफियालाई कारबाही गर’, ‘पीडितलाई न्याय दे’ र ‘भूमिहीन एक हौँ’ लगायतका नारा लगाइएको थियो ।

पीडितहरूले केही समय जिल्ला प्रशासन कार्यालय झापाको गेटमा शान्तिपूर्ण धर्नासमेत दिएका थिए । प्रशासन कार्यालयमा धर्ना दिएपछि उनीहरू जिल्ला प्रहरी कार्यालय झापाको मूल गेटमा पुगेका थिए । त्यहाँ पनि केही समय नाराबाजी गर्दै मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि दबाब दिएका थिए ।

जिल्लामा मिटरब्याज पीडितको सङ्ख्या ६ सयभन्दा बढी रहेको मिटरब्याज पीडित संघर्ष समितिले जनाए पनि अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा  जिल्ला प्रशासन कार्यालय झापामा १०२ वटा उजुरी परेको थियो । 

सम्बन्धित समाचार