भद्रपुर आँखा अस्पताल : तीन करोडको पूर्वाधार, १६ शय्याको भवन, दुई नेत्र-सहायकको भर !
भद्रपुर । बिर्तामोडको सैनिक मोडस्थित मेची आँखा अस्पतालको शाखाका रूपमा सञ्चालित यहाँ स्थित ‘भद्रपुर आँखा अस्पताल’ भौतिक पूर्वाधार, जग्गा र सम्भावनाका हिसाबले एउटा पूर्ण क्षमताको अस्पताल बन्ने आधारले युक्त छ । तर, बिरामीको निरन्तर बढ्दो चाप र सम्भावनाका बाबजुद व्यवस्थापकीय उपेक्षाका कारण यो शाखा अस्पताल हाल सीमित सेवामै खुम्चिन बाध्य छ ।
स्थानीय दाता जयनारायण सरियाको स्मृतिमा उनका भाइ सत्यनारायण सरिया परिवारद्वारा दान प्राप्त १ बिघाको परिसरमा करिब ३ करोड रुपैयाँको लागतमा लगभग ६ महिना अघि अर्को नयाँ २ तले सुविधायुक्त अस्पताल भवन निर्माण भइसकेको छ । १६ शय्याको क्षमता, आफ्नै फार्मेसी र चश्मा पसल समेत रहेको यो अस्पतालमा शनिबार बाहेक दैनिक औसत ५० जनाको हाराहारीमा बिरामीहरू आँखाको उपचारका लागि आउने गरेका नेत्र-सहायक ज्ञान महतोले बताएका छन् । तर, यति ठूलो पूर्वाधार र बिरामीको उपस्थिति हुँदाहुँदै पनि हालसम्म भने बिरामीको चापलाई केवल २ जना नेत्र-सहायकले जेनतेन धान्दै आइरहेका छन् ।
यस अस्पतालमा मोतीबिन्दु र आँखामा मासु पलाएको शल्यक्रिया हुने गरे पनि त्यो सेवा हप्ताको एक दिन-केवल बुधवारमा मात्र सीमित छ । हप्तामा एक दिन मात्र शल्यक्रिया हुनुले यहाँका नागरिक र छिमेकको इण्डियाबाट यस अस्पतालमा उपचारार्थ आउने गरेका रोगीहरू विशेषज्ञ सेवाबाट वञ्चित भइरहेको स्पष्ट छ । विशेषज्ञ चिकित्सकको स्थायी पदस्थापन नहुँदा सामान्यभन्दा जटिल उपचारका लागि स्थानीयले पुनः बिर्तामोड वा अन्यत्र धाउनु पर्ने बाध्यता रहेको छ ।
भद्रपुरमा स्थायी रूपमा कम्तीमा एक जना आँखा रोग विशेषज्ञ (Ophthalmologist) र हप्ताभरि नै पूर्ण सेवा व्यवस्थापनका लागि मेची आँखा अस्पतालको सञ्चालक समिति (बोर्ड) का सदस्य समेत रहेका भद्रपुर निवासी छत्रप्रसाद अधिकारी समक्ष जिज्ञासा राख्दा ‘मुख्य संस्था मेची आँखा अस्पतालको सञ्चालक समिति (बोर्ड) समक्ष पटक-पटक ध्यानाकर्षण गराउनुका साथै हालै यस सम्बन्धी प्रस्ताव टेबल पनि गरिसकिएको हुँदा अब सम्भवतः निकट भविष्यमै भद्रपुरमा पूर्णकालीन आँखा विशेषज्ञ (चिकित्सक) को सेवा प्रारम्भ हुने’ दाबी गरेका छन् ।
भद्रपुर आँखा अस्पतालको पछिल्लो भवन निर्माण कार्यको सुपरिवेक्षणमा निरन्तर खटिँदै आएका उनी भन्छन्- ‘भरपर्दो, स्तरीय, अत्याधुनिक र सुलभ आँखा उपचार सेवामा मेची आँखा अस्पतालले कमाएको ख्याति एवम् प्रतिष्ठाका कारण त्यसकै शाखा भद्रपुरमा रहेको यो अस्पतालले पनि आफ्नो सेवा हप्तैभर सुचारु गरेपछि बिरामी र अस्पताल दुवै लाभान्वित हुने कुरामा हामी विश्वस्त छौँ ।’
त्यसैगरी, भद्रपुरबाटै मेची आँखा अस्पताल बोर्डमा प्रतिनिधित्व गर्ने अर्का सञ्चालक सदस्य अधिवक्ता सुरज खत्रीले पनि ‘भद्रपुर आँखा अस्पतालको पूर्वाधार, यहाँ आउने आँखाका रोगी र अब आवश्यक संसाधनहरूको तुलनात्मक अध्ययन गरी बोर्डले ६ दिन नै विशेषज्ञ चिकित्सक र शल्यक्रिया सेवा सुचारु गर्ने तर्फ कुराकानी हुँदै आएको’ जानकारी दिए । तर, बिरामीको आवश्यकता र स्थानीयको मागप्रति मेची आँखा अस्पताल बोर्डबाट हालसम्म भने सुनुवाई हुन सकेको छैन ।
पुग्दो जग्गा, आवश्यक भौतिक पूर्वाधार र बिरामीको विश्वास भइकन पनि जनशक्तिको अभावमा भद्रपुरको गहनाकै रुपमा रहेको आँखा अस्पतालको सेवा खुम्च्याएर राख्नु स्रोत र साधनको दोहन मात्र हो ।
भद्रपुर शाखालाई हप्ताभरि नै विशेषज्ञ डाक्टर सहितको सेवा दिनेगरी स्तरोन्नति गर्दा मेची आँखा अस्पताल र समग्र भद्रपुर क्षेत्रलाई बहुआयामिक लाभ पुग्ने देखिन्छ । पहिलो त, दैनिक सरदर ५० जना आउने अस्पतालमा विशेषज्ञ डाक्टर र नियमित शल्यक्रिया सेवा उपलब्ध हुने हो भने बिरामीको सङ्ख्या दोब्बरभन्दा बढी हुने निश्चित छ । यसले अस्पतालको सेवा शुल्क र अन्य तर्फबाट हुने आम्दानी बढाएर शाखालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन मार्ग प्रशस्त गर्ने छ ।
दोस्रो, इण्डियासँग सीमा जोडिएको सबभन्दा नजिकको विन्दुमा पर्दछ- भद्रपुर । नजिकै रहेको सीमावर्ती बजार तथा नाकाका कारण सीमापारिका बिरामीहरूलाई समेत यसले आकर्षण गर्ने ठूलो सम्भावना छ । जस्तो कि, नेपालका पूर्वी सीमान्त क्षेत्रका अन्य आँखा अस्पतालहरूमा आँखाको उपचार गराउन आउने अधिकतर इण्डियाकै विभिन्न स्थान (बिहार, बंगाल, सिक्किम, आसाम समेत)बाट आएकाहरू हुने गरेका छन् । यस दृष्टिले भद्रपुर आँखा अस्पताल स्वास्थ्य पर्यटनको सम्भावना बोकेको नजिकको अस्पताल हुने छ; जसले अस्पतालको विकाससँगै स्वास्थ्य पर्यटनमा टेवा पु¥याउने पक्का छ ।
तेस्रो, अस्पतालमा बिरामी र तिनका कुरुवाको आवागमन बढ्दा भद्रपुरको स्थानीय यातायात, होटेल, पसल र समग्र व्यापारिक गतिविधि बढ्ने छ, जसरी मेची आँखा अस्पताल भएको स्थानले सोही अस्पतालकै कारण व्यस्त सानो शहरजस्तै रूप लिएको छ । जसबाट स्थानीय अर्थतन्त्रलाई प्रत्यक्ष टेवा पुऱ्याउँछ र स्थानीय आर्थिक जीवन चलायमान बन्ने छ ।
र चौथो, दाता परिवारले यो अस्पताल सञ्चालन गर्नकै खातिर १ बिघा जग्गा दान गरेपछि खडा भएको संरचनालाई पूर्ण क्षमतामा चलाउनु संस्थाको नैतिक दायित्व पनि हो । जसले दाताको सम्मान हुनुका साथै भद्रपुरमै पूर्ण उपचार सेवा उपलब्ध हुँदा बिर्तामोडस्थित मेची आँखा अस्पतालमा पर्ने बिरामीको अत्यधिक चाप समेत सन्तुलित हुने छ । यसैले यहाँ निरन्तर स्थायी विशेषज्ञ सेवा आवश्यक रहेको पुष्टि गर्दछ ।
समग्रमा, पुग्दो जग्गा, आवश्यक भौतिक पूर्वाधार र बिरामीको विश्वास भइकन पनि जनशक्तिको अभावमा भद्रपुरको गहनाकै रुपमा रहेको आँखा अस्पतालको सेवा खुम्च्याएर राख्नु स्रोत र साधनको दोहन मात्र हो । भद्रपुरका स्थानीयवासी र बोर्ड सदस्यहरू समेतको व्यावहारिक मागलाई सम्बोधन गर्दै मेची आँखा अस्पताल बोर्डले अब ढिला नगरी भद्रपुर शाखामा स्थायी विशेषज्ञ चिकित्सक र हप्ताभरि नै शल्यक्रिया सेवाको व्यवस्थापन गर्न आवश्यक छ ।
बिर्तामोडको सैनिक मोडस्थित मेची आँखा अस्पतालको शाखा अस्पताल भद्रपुर-५, देवी बस्तीमा २०७५ साल मङ्सिर ७ गतेदेखि सञ्चालित छ । यहाँ शनिबार बाहेक आँखा सम्बन्धी प्रारम्भिक उपचार हुने गरेको छ । यस अस्पतालमा मोतीबिन्दु र मासु पलाएको आँखाको शल्यक्रिया पनि हुने गरेको छ- तर, हप्ताको १ दिन अर्थात् बुधवार मात्र । करिब ३ करोड रुपैयाँको लागतमा २ तले सुविधायुक्त भवनमा आँखाको उपचार सेवा सुचारु र नियमित गर्न जनशक्तिको अभाव भने निकै खट्किँदै आएको छ । यसैले मेची आँखा अस्पताल सञ्चालक समितिले भद्रपुरको आवश्यकता र मागलाई यथाशीघ्र सम्बोधन गर्नु पर्छ भन्ने आवाज सघन बनेको छ ।
उता, २०५३ सालमा स्थापित मेची आँखा अस्पतालमा २०८२ सालदेखि अप्थाल्मोलोजीमा एमडी तहको ३ वर्षे कोर्समा हाल २ जना अध्ययनरत रहेको र अब नर्सिङ क्याम्पस पनि सञ्चालन गर्ने प्रयास भइरहेको बुझिएको छ ।