पब्जीको डायमण्डले निम्त्यायो अपहरण : झापाका नवीन रायलाई बन्धक बनाएर यातना
पब्जीमा जितेको डायमण्डको रकम माग्दै झापा शिवसताक्षी नगरपालिका-१० माईघारका नवीन रायको अपहरण भएको खुलेको छ । हाल काठमाडौँ महानगरपालिका-२६ मित्रनगर बस्दै आएका नवीन ठमेलस्थित रोयल क्याफे एण्ड थकाली भान्छाघरका कफी मेकर हुन् । साउन २८ मा २६ वर्षीय नवीनलाई ७ जनाले मिलेर कलंकीबाट अपहरण गरेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ती युवकको उद्धार गरेको थियो ।
नागार्जुन नगरपालिका–५ स्थित छग्डोलमा पीडितलाई हातखुट्टा बाँधेर यातना दिएको अवस्थामा उद्धार गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
अपहरणमा संलग्न मुख्य आरोपी रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ घर भएर कलंकी बस्ने ३२ वर्षीय मनोज बुढाथोकी हुन्। सामाजिक सञ्जालमार्फत चिनजान भएका रोहित भन्ने भारतीय नागरिकसँग बुढाथोकीले एक हप्तादेखि कुराकानी गरिरहेका थिए । रोहितले ‘डलर कार्ड लोड गरिदिन्छु’ भनेर सामाजिक सञ्जालमा विज्ञापन राखेका थिए।
बुस्टिङमा काम लाग्ने हुनाले डलरको भाउ बढी दिन्छु भनेर रोहितले ट्रस्ट वालेट एप डाउनलोड गर्न लगाएका थिए । त्यसपछि उनले रोहितलाई १८ हजार भर्चुअल मुद्रा ‘युसि क्वाइन’ ट्रान्सफर गर्न लगाएका थिए । तर, उनीहरूको बिचमा भौतिक रूपमा चिनजान भएको थिएन ।
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार पब्जी खेलमा जितेको भर्चुअल डायमण्ड मनोजले पाउनुपर्ने थियो। सो डायमण्ड बापत मनोजले १२ लाख पाउनुपर्ने र त्यसलाई युएसडीटीमा कन्भर्ट गरेर बढी रकम दिन्छु भनेर रोहितले भनेका थिए । डायमण्ड बापतको रकम डलर कार्डमा लोड गरिदिने भन्दै त्यसमा सहयोग गर्न आफूले एक जना युवक पठाउन लागेको भनेर रोहितले नवीनलाई कलंकीस्थित भेटघाट क्याफेमा पठाएका थिए ।
भेटघाट क्याफेमा पुगेका नवीनलाई मनोजसहितका आरोपीहरूले अपहरण गरेर नागार्जुनमा लगेका थिए । डायमण्ड बापतको १८ लाख माग्दै हातखुट्टा बाँधेर यातना दिए । तर, नवीनलाई रोहितसँग रकम लेनेदेन रहेको थाहा नै नभएको एसएसपी खड्काले जानकारी दिए ।
अपहरणमा संलग्न मनोज बुढाथोकी, अर्घाखाँचीको मालारानी–३ घर भएका प्रदिप पोखरेल, ओखलढुंगाको लिखु गाउँपालिका–५ घर भएका निमेश कार्की, काभ्रे भुम्लुका देवकुमार श्रेष्ठ, सर्लाही लालबन्दी नगरपालिका घर भएका जेनिश चोधरी, चितवन राप्ती नगरपालिका–२ घर भएका अमित ओली र मकवानपुर बागमती गाउँपालिका घर भएका निशान रुम्बालाई प्रहरीले पक्राउ गरेको छ । पीडितलाई मनोज बुढाथोकी समूहसँग भेट्न पठाउने भारतीय नागरिक रोहित सम्पर्कविहीन छन् ।