२०८३ भाद्र ८ गते , सोमबार

उपभोक्ता जागरण अभियान झापाको अध्यक्षमा भट्टराई

sajilo news
झापा
२०८३ भाद्र ८ गते , सोमबार
उपभोक्ता जागरण अभियान झापाको अध्यक्षमा भट्टराई

झापा । उपभोक्ता जागरण अभियान नेपालको झापा शाखाको दोस्रो अधिवेशनले शालिकराम भट्टराईको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। दुई वर्षे कार्यकालका लागि चन्द्रगढीस्थित दुर्गा माता उपासना समितिको सभा हलमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो।

नवनिर्वाचित समितिको उपाध्यक्षमा इन्द्रप्रसाद ओली, सचिवमा देवीभक्त आचार्य, सहसचिवमा कल्पना भट्टराई र कोषाध्यक्षमा शेखरनाथ अधिकारी चयन हुनुभएको छ।

त्यस्तै सदस्यहरूमा अर्जुन कार्की, कमला सिवाकोटी, धर्मेन्द्र गुप्ता, राजन पौडेल, थीरप्रसाद खतिवडा, उदयनारायण ढुंगाना र विदुर तिवारी चयन भएका छन्। अधिवेशनले चार सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। सल्लाहकारमा कुलप्रसाद ओडारी, अनिता दाहाल, जीवन खड्का र राजिव धिमाल चयन भएका छन् । 
शालिकराम भट्टराईको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा बोल्दै झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले उत्पादक, विक्रेता, उपभोक्ता र नियामक निकाय सबै इमानदार भए मात्रै उपभोक्ताको अधिकार सुरक्षित हुने बताए। कतिपय अवस्थामा प्रशासनले चाहेर पनि कारबाही गर्न नसक्ने अवस्था आउने गरेको उनले उल्लेख गरे।

अभियानका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले न्यून बिजकीकरणको अन्त्य र भन्सारमा यथार्थपरक मूल्य कायम नभएसम्म उपभोक्ताको अधिकार सुरक्षित हुन नसक्ने बताए। उनले सरकारले राष्ट्रिय आपूर्ति नीति ल्याउनुपर्नेमा जोड दिए।

भण्डारीले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी प्रमुखलाई सदस्य राखी पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृतलाई निरीक्षण अधिकृत तोक्ने व्यवस्था भए बजार अनुगमन तथा नियन्त्रण प्रभावकारी हुने दाबी गरे।

कार्यक्रममा अभियानका केन्द्रीय उपाध्यक्ष राजेन्द्र घिमिरेले नागरिकका पक्षमा अभियानले निरन्तर संघर्ष गर्दै आएको र आगामी दिनमा पनि उपभोक्ताको हितका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। प्रशासनको प्रभावकारी निगरानीबिना उपभोक्ताको हित संरक्षण गर्न कठिन हुने उनको भनाइ थियो।

झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राई, अभियानका मेचीनगर अध्यक्ष रचना ओली घिमिरे, प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरलगायतले बजार अनुगमनलाई प्रभावकारी बनाउँदै गलत कार्य गर्ने विक्रेतामाथि कारबाही गर्नुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार