२०८३ भाद्र ७ गते , आईतबार

नेदरल्यान्ड्सलाई मेसी चुनौती

sajilo news
एजेन्सी
२०७९ मंसीर २३ गते , शुक्रबार
नेदरल्यान्ड्सलाई मेसी चुनौती

दोहा । डच डिफेन्डर जुरेन टिम्बर लियोनल मेसीको सामना गर्न अत्तालिएका छैनन् । तर, उनलाई थाहा छ, सात पटकका बालन डी’ओर विजेतालाई रोक्नु चुनौतीपूर्ण नै हुनेछ। विश्वकपको क्वार्टरफाइनलमा नेदरल्यान्ड्सले अर्जेन्टिनाको सामना गर्दा डिफेन्डर टिम्बरलाई विश्वकै उत्कृष्टमध्ये एक खेलाडीलाई रोक्ने जिम्मेवारी हुनेछ। जारी विश्वकपमा अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता मेसीले तीन गोल गरिसकेका छन् ।

अन्तिम १६ अन्तर्गत अस्ट्रेलियाविरुद्ध २–१ को जित निकाल्दा मेसीले उत्कृष्ट प्रदर्शन गर्दै दुई पटकको विश्वकप विजेतालाई अन्तिम आठमा पुर्‍याएका थिए। नेदरल्यान्ड्सविरुद्ध मेसी स्कोर सिटमा हुन्छन् कि हुँदैनन् ? भन्ने प्रश्न मात्रै होइन, त्यो खेलको नतिजा पनि त्यसमा निर्भर हुनेछ।

पेरिस सेन्ट जर्मन (पीएसजी)का फरवार्डलाई चुप राख्न सकेमात्रै नेदरल्यान्ड्सले अन्तिम चारको यात्राको सपना साकार पार्न सक्छ। नाथन एकीसँगै बसेर टिम्बर भन्छन्, ‘म अत्तालिएको पटक्कै छैन। उनकाविरुद्धमा खेल्नु साँच्चै चुनौतीपूर्ण हुनेछ। मेसी अविश्वसनीय खेलाडी हुन्। तर, हामी मेसीविरुद्ध मात्रै खेल्न लागेका होइनौं। हामी एक वा दुई जनाले मात्रै त्यसलाई पार लगाउनु पर्ने चुनौती होइन। हामी एक टिम भएर मैदानमा प्रस्तुत हुनेछौं।’

नाथन एकी पनि उनलाई रोक्नु चुनौतीपूर्ण हुने बताउँछन्। ‘मेसीलाई रोक्न कठिन छ। उनी सम्भवतः विश्वकै उत्कृष्ट खेलाडी हुन्। त्यसैले हामी सावधान रहनुपर्छ’, एकी भन्छन्।

नेदरल्यान्ड्सको रक्षापंक्तिका अर्का महत्वपूर्ण सदस्य कप्तान भर्जिल भान डाइक हुन्। उनले पनि मेसीलाई रोक्नु चुनौतीपूर्ण हुने देखेका छन्। ‘उनीहरूसँग राम्रा खेलाडीले भरिएको सन्तुलित टिम छ। जुनसुकै खेलाडी निर्णायक भूमिका निर्वाह गर्न सक्छन्’, भान डाइक भन्छन्, ‘तर, त्यो खेल नेदरल्यान्ड्सविरुद्ध मेसी हुनेछैन। त्यो खेल नेदरल्यान्ड्स भर्सेज अर्जेन्टिना हुनेछ। लामो समयदेखि धेरै माथिल्लो स्तरमा रहेका क्रिस्टियानो रोनाल्डो र मेसीलाई एकदमै सम्मान गर्छु। मेसीसँग विशेष सावधान अपनाउनु पर्छ। तर, त्यहाँ जुलियन अल्भारेज पनि छन्। उनी अर्जेन्टिना र म्यानचेस्टर सिटीमा उत्कृष्ट भविष्यतर्फ अग्रसर छन्। आशा छ, शुक्रबार उनी उत्कृष्ट लयमा हुने छैनन्।’

अर्जेन्टाइन प्रशिक्षक लियोनल स्कालोनीलाई रणनीतिक चुनौती छ। फेरि ४–३–३ फर्मेसनमा सुरुवात गर्ने वा अस्ट्रेलियाविरुद्धको अन्तिम समयमा जस्तै ३–५–५ फर्मेसन अपनाउने भन्ने रणनीति बनाउनै उनी व्यस्त छन्। एन्जल डी मारिया पूर्णरूपमा तयार भए पक्कै पहिलो रोजाइमा पर्नेछन्। स्कालोनीले तीन सेन्टर ब्याकको रणनीति अपनाए भने लिसान्ड्रो मार्टिनेजलाई समावेश गरेर पापु गोमजलाई बेन्चमा सीमित गर्न सक्छन्।

अर्जेन्टिनाले तीन सेन्टर ब्याकको रणनीति अपनायो भने नेदरल्यान्ड्ससँग समान हुनेछ। त्यसो हुँदा नेदरल्यान्ड्सको टिममा देखिएका सबैभन्दा विध्वंकारी डेन्जल डम्फ्रिजलाई केही सहज हुनेछ। उनले अन्तिम १६ मा अमेरिकाविरुद्ध दुई असिस्ट गरेर एक गोल पनि गरेका छन्।

सम्बन्धित समाचार