२०८३ भाद्र ११ गते , विहीबार
मेची नेत्रालयमा मोतीबिन्दु भएका ५३ जनाको निःशुल्क शल्यक्रिया
झापा । मोतीबिन्दु भएका ५३ जनाको दमक- ६ स्थित मेची नेत्रालयले निःशुल्क शल्यक्रिया गरेको छ । मातृका आई फाउन्डेसन काठमाडौँसँगको सहकार्यमा नेत्रालयले शनिवार दमक र आसपास क्षेत्रका बिरामीहरूको लागि निःशुल्क शल्यक्रिया गरेको हो ।
यसअघि नेत्रालयले निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । नेत्रालयले दमक नगरपालिका ९, चुलाचुली गाउँपालिका इलामको १ र ६ नम्बर वडामा, कमल गाउँपालिका झापाको २, ३ र ६ नम्बर वडामा र शिवसताक्षी नगरपालिकाको ११ नम्बर वडामा आँखा शिविर सञ्चालन गरेको थियो । सो शिविरमा करिब १५ सय जनाले सेवा प्राप्त गरेका अस्पतालको भनाइ छ । शिविर सञ्चालनका क्रममा भेटिएको मोतीबिन्दु भएका ५३ जनाको शनिवार मेची नेत्रालय दमकमा शल्यक्रिया गरिएको हो ।
आँखाको पर्दा रोग विशेषज्ञ डा। शरदचन्द्र राई, डा। राजेश श्रेष्ठको टोलीसँगै मातृका आई फाउन्डेसनको प्राविधिक सहयोग रहेको थियो ।
मातृका आई फाउन्डेसन काठमाडौँको विशेष गरेर चस्मा÷कनट्याक्ट लेन्सहरू तत्काल र स्थायी रूपमा हटाउन लेजर आँखाको शल्यक्रिया प्रमुख सेवाको रुपमा रहेको छ । आधुनिक उपकरणहरू सहितको बाहिरी–बिरामी–उन्मुख सर्जिकल केन्द्र हो । सेवाहरूमा व्यापक आँखा समस्या अनुसन्धान, औषधि, थेरापी चस्मा÷कनट्याक्ट लेन्स र शल्यक्रियाहरू मार्फत उपचार समेत व्यवस्था रहेको छ ।
दमकमा नै पहिलो पटक अत्याधुनिक प्रविधिबाट बिना सिलाइ आँखाको पर्दा सम्बन्धी सम्पूर्ण सेवाहरू मेची नेत्रालयले १ वर्षअघिदेखि सुरु गरिसकेको छ । आँखाको जटिल उपचार मानिने आँखाको पर्दा (रेटिना) सम्बन्धी सेवा अत्याधुनिक प्रविधिबाट सिलाई नगरी शल्यक्रिया गरी दमकमा पहिलो पटक सुरु भएको हो ।
आँखा भित्र एउटा लेन्स हुन्छ । यो लेन्सले क्यामराको लेन्सको जस्तै प्रकाशको किरणलाई केन्द्रित गर्ने काम गर्छ, जसले गर्दा तपाईँ देख्न सक्नु हुन्छ । यो लेन्स, तपाईँ जवान हुँदा पारदर्शी र रङ विहीन हुन्छ, तर जब तपाईँ बुढो हुँदै जानुहुन्छ, यो लेन्स धमिलो र पहेँलो हुँदै जान्छ । तपाईँको लेन्सको धमिलोपनलाई मोतीबिन्दु भनिन्छ । समय बित्दै जाँदा, मोतिविन्दुले तपाईँको दृष्टि अझ धमिलो बनाउँछ र तपाईँको आँखा प्रकाशको ज्योतिसँग संवेदनशील हुँदै जान्छ ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ