२०८३ भाद्र ११ गते , विहीबार
औषधि पसलमा लागु औषधको कारोबार, सञ्चालकसहित ९ जना पक्राउ
झापा । मोरङको सुन्दरहरैचा नगरपालिका- १० बिराटचोकमा सञ्चालित नेती फर्मा र डे– ड्रिम मेडिसिन सेन्टरका सञ्चालकलाई ठुलो परिणामको अवैध औषधि सहित प्रहरीले पक्राउ गरेको छ । सञ्चालकलाई पक्राउ गरेसँगै उक्त औषधि खरिद गरी लागु औषधको रुपमा प्रयोग गर्ने अन्य ७ जना समेत पक्राउ परेका छन् ।
दुवै मेडिकलबाट चिकित्सकको अनुमति बिना अवैध रुपमा महँगो मूल्यमा लागु औषध दुर्व्यसनीमा लागेका व्यक्तिहरूलाई औषधि अनधिकृत रुपमा बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूह र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मेडिकल सञ्चालक सुन्दरहरैचा नगरपालिका- १० का ४५ वर्षीय सुशील काफ्ले र उनका श्रीमती ३२ बर्षीया गोमा कार्की र लागु औषध सेवनकर्ताहरू सुन्दरहरैचा- १ का २३ वर्षीय सनम खवास, सुन्दरहरैचा- १० का ३० वर्षीय अरुण राई, ३५ वर्षीय सनम तामाङ , सुन्दरहरैचा- ९ का २४ वर्षीय सुवास राई, २२ वर्षीय जुसन सुनाम, ३१ वर्षीय निमेष परियार र ३४ वर्षीय अनुप खड्का रहेका छन् । मेडिकलबाट प्रहरीले SPASPAIAN- 44,370 चक्की, ANTI KOF- 17,620 चक्की, NEAURIN-75- 18,923 चक्की, PRE-Z-75- 1,200 चक्की र APABALIN-75-14,600 चक्की बरामद गरेको छ । यता घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
सम्बन्धित समाचार
भोटेकोशीमा विनाशकारी बाढी : झापाका धेरैजना परेको आशंका, आफन्तजनलाई सम्पर्क आउन प्रशासनको आग्रह
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म २७० जनाको शव फेला
दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ